पूर्ववर्ती सरकारले अगाडी सारेका नीति तथा कार्यक्रमलाई निरन्तरता दिएकोमा प्रतिपक्षी दलका प्रदेशसभा सदस्यबाट सरकारलाई धन्यवाद
प्रकाश खनाल
बुटवल,२७ जेठ ।
लुम्बिनी प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रममाथीको छलफल सुरु भएको छ ।
आज बसेको प्रदेश सभाको दशौ अधिवेशनको सातौं बैठकमा प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममाथीको छलफल सुरु भएको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सत्ता पक्षका प्रदेश सभा सदस्यहरुले राम्रो भएको भन्दै नीति तथा कार्यक्रम अनुरुपको वजेट ल्याएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् भने प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रम महत्वाकांक्षी र कार्यान्वयन हुन नसक्ने खालको भनि टिप्पणी गरेका छन् ।
यद्यपी पूर्ववर्ती सरकारले अगाडी सारेका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटेको भन्दै प्रमुख प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारलाई धन्यवाद दिएका थिए ।
नीति तथा कार्यक्रममाथीको छलफलमा सहभागि हुदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उप नेता तथा पुर्व मन्त्री बैजनाथ चौधरीले पूर्ववर्ती सरकारले अगाडी सारेका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटेकोमा प्रदेश सरकारलाई धन्यवाद दिए ।
उनले नीति तथा कार्यक्रममा आएका केही कार्यक्रम भने महत्वाकांक्षी र कार्यान्वयन हुन नसक्ने खालका भएको दाबी गरे ।
बैठकमा नेकपा एमाले संसदीय बोर्डका सचिब तथा पुर्वमन्त्री भोज प्रसाद श्रेष्ठ,बिष्णु पन्थी,सरसस्वती गौतम,कबिराम थारु,तुल्सी प्रसाद चौधरी,भगवतीदेवी भण्डारी,थान कुमारी थापाले नीति तथा कार्यक्रममाथी आ आफ्नो भनाई राखेका थिए ।
त्यस्तै बैठकमा पुर्वमन्त्री समेत रहेका सत्ता पक्ष नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य सुदर्शन बराल,प्रदेश मामिला तथा कानून समिति सभापति समेत रहेकी दामा कुमारी शर्मा,दीपा बिक,तथा नेपाली कांग्रेसका पदेश सभा सदस्य भुवनेश्वर चौधरी,पुष्पा थरुनीले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको बताउदै त्यसका आधारमा वजेट ल्याएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
यही जेठ २५ गते बुधबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले आगामी आर्थिक बर्ष २०७९÷०८० का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रदेश सभाको अर्को बैठक यही जेठ २८ गते शनिबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।






