प्रकाश खनाल
बुटवल,२५ जेठ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम बुधबार संसदमा प्रस्तुत गरेको छ ।

बुधबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक कुमार शेरचनले नीति तथा कार्यक्रम संसदमा पेश गरेका हुन् ।

नीति तथा कार्यक्रममा सरकारले पुराना योजनालाई निरन्तरता दिँदै लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गदै प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण,उत्पादन र उत्पादकत्व बृद्धिलाई प्राथमिकता दिएको जनाए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा पुर्वाधार निर्माण, खानेपानी तथा विद्युतमा पहुँच, रोजगारी सिर्जना,मानव पूँजि निर्माण,आय असमानता तथा गरिबी न्यूनिकरण,दिगो विकास,पर्यावरणीय सन्तुलनलाई प्राथमिकता दिँदै संघीयताको प्रभावकारी कार्यान्वयन र सुशासन प्रबद्र्धनलाई जोड दिइएको छ ।

प्रदेशको राजधानी ब्यवस्थापन, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, पाल्पाको रामपुरदेखि रोल्पाको पातिहाल्नासम्मको सडक, नौमुरे विद्युत आयोजनालाई प्रदेशको गौरबको आयोजनाका रुपमा विकास गरी कार्यान्वयन गर्ने प्रदेश सरकारको नीति रहेको छ ।

त्यस्तै स्वास्थ्यमा सिकलसेन परामर्श ईकाई सञ्चालन, कृषिमा एक स्थानीय तहः एक नमुना उत्पादन, उद्योग ब्यवासायमा प्रदेशमा लगानी भित्राउन र लगानीकर्ताहरुलाई आकर्षण गर्न नीतिगत, कानूनी र संस्थागत सुधार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने पुरानै नीति तथा कार्यक्रम दोह्रोराएको टिप्पणी गरेको छ । नयाँ आएको कार्यक्रम पनि कार्यान्वयनमा आशंका ब्यक्त गरेको छ ।