बुटवल,१९ जेठ ।
लुम्बिनी प्रदेशका उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले कोभिड–१९ ले उद्योगीहरुमा परेको असरलाई न्युनिकरण गर्न प्रदेश सरकारले तीन बर्षका लागि औद्योगिक कर्जाको ब्याजमा अनुदान दिने नीति लिएको बताएका छन् ।

उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा शुक्रबार बुटवलमा आयोजित लघु, घरेलु तथा साना उद्योगमा कोभिड–१९ ले पारेको प्रभाव र समाधानका उपाय सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शाहीले कोभिड–१९ ले उद्योगीहरुमा परेको असरलाई न्युनिकरण गर्न प्रदेश सरकारले तीन बर्षका लागि औद्योगिक कर्जाको ब्याजमा अनुदान दिने नीति लिएको बताएका हुन् ।

बिभिन्न कारणले चालु आर्थिक बर्षमा सो रकम खर्च हुन नसकेको भन्दै उनले अब त्यसबाट उद्योगिहरु लाभान्वीत हुने बताए ।
मन्त्री शाहीले उद्योगी ब्यवसायीहरूका समस्या,गुनासो र सुझावलाई आत्मसात गरि मन्त्रालयले समस्या समाधानमा लाग्ने प्रतिवद्वता समेत जनाए ।

उद्योगी ब्यवसायीका समस्या समाधान गरी औद्योगिकिकरण मार्फत रोजगारी उपलब्ध गराउने र प्रदेशलाई सम्बृद्व बनाउने उदेश्यलेनै छुट्टै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय गठन भएको भन्दै उनले उद्योगी ब्यवसायीलाई परेका समस्या समाधान गर्न मन्त्रालय सधै तत्पर रहेको बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव हेमराज सुवेदीले उद्योगी ब्यवसायीहरूका गुनासा,सुझावलाई मन्त्रालयले आफ्नो सम्पत्तिको रूपमा ग्रहण गरेर उद्योगी ब्यवसायीका समस्या समाधानमा लाग्ने प्रतिवद्वता जनाए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष नेत्र प्रसाद पाठक,प्रदेशका बरिष्ठ उपाध्यक्ष गणेश प्रसाद अधिकारी,उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयका उद्योग,बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक यमबहादुर कुँवर,नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालयका प्रमुख लेखनाथ भुसाल,मन्त्रालयकी अधिकृत कल्पना अर्याल लगायतले आ आफ्नो भनाई राखेका थिए ।