बुटवल,१९ जेठ ।
लुम्बिनी प्रदेशका उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्योगी ब्यवसायीका समस्या समाधान गर्न मन्त्रालय तत्पर रहेको बताएका छन् ।

उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज बुटवलमा आयाेजित उद्धमी महिलाहरूसँकाे अन्तर जिल्ला अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री शाहीले उद्योगी ब्यवसायीहरूका समस्या,गुनासो र सुझावलाई आत्मसात गरि मन्त्रालयले समस्या समाधानमा लाग्ने प्रतिवद्वता समेत जनाएका हुन् ।

उद्योगी ब्यवसायीका समस्या समाधान गरी आैद्याेगिकिकरण मार्फत राेजगारी उपलब्ध गराउने र प्रदेशलाई सम्बृद्व बनाउने उदेश्यलेनै छुट्टै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय गठन भएको भन्दै उनलेे उद्योगी ब्यवसायीलाई परेका समस्या समाधान गर्न मन्त्रालय सधै तत्पर रहेको बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव हेमराज सुवेदीले उद्योगी ब्यवसायीहरूका गुनासा,सुझावलाई मन्त्रालयले आफ्नो सम्पत्तिको रूपमा ग्रहण गरेर उद्योगी ब्यवसायीका समस्या समाधानमा लाग्ने प्रतिवद्वता जनाए ।

कार्यक्रममा सहभागी महिला उद्यमीहरूले मन्त्रालयले महिलाहरूलाई उद्योगी बन्न प्रेरणा दिए पनि उनिहरूका समस्या समाधानमा उदासीनता देखाएको गुनासो गरेका थिए ।

बर्षमा एक पटक अन्तरक्रिया गर्दैमा उद्योगी ब्यवसायीका समस्या समाधान नहुने भन्दै उनिहरूले उद्योगी ब्यवसायीका समस्या समाधानमा लाग्न र उद्योगीमैत्री वातावरण बनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष नेत्र पाठक,महासंघका लुम्बिनी प्रदेशका बरिस्ठ उपाध्यक्ष गणेश प्रसाद अधिकारी,नेपाल घरेलुु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिका केन्द्रीय उपाध्यक्ष तारा आचार्य,महिला उद्यमी समिति लुम्बिनी प्रदेश अध्यक्ष शान्ता शर्मा,रूपन्देही जिल्ला अध्यक्ष बिष्णु थापा,महिला उद्यमीहरू मञ्जु भुसाल,जाेगकुमारी चाैधरी लगायतले आ आफ्नो भनाइ राखेका थिए ।