बुटवल,१८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) ले मुल्य बृद्वि,भ्रष्टाचार,कालाेबजारी र महिला हिंसाको बिराेधमा कुधबार बुटवलमा प्रदर्शन गरेको छ ।
प्रदर्शनपछि बुटवलको अस्पताल लाइनमा आयाेजित काेणसभालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पाेलिट्ब्युराे सदस्य भुपेन्द्र न्याैपानेले बर्तमान राज्य ब्यवस्था रहेसम्म महंगी,भ्रष्टाचार र विभेद अन्त्य हुन नसक्ने भन्दै जनगणतन्त्र स्थापना गर्नुपर्नेमा जाेड दिए ।
नेपाली जनताले चाहेको परिवर्तन अझै नआएको भन्दैमा उनलेे मुलुककाे आमूल परिवर्तनका लागि ससक्त संघर्ष आवश्यक रहेको बताए । पुराना राजनीतिक दलका पुराना नेताहरूबाट मुलुकको परिवर्तन सम्भव नभएको बताउदै उनलेे भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनले पनि त्यसको संकेत गरेको बिचार ब्यक्त गरे ।
राजनीतिक दलका नेतृत्वकाे गलत क्रियाकलाप प्रति स्थानीय तहको निर्वाचन मार्फत जनताले असन्तुष्टि जाहेर गरेको भन्दै उनलेे आगामी निर्वाचनमा त्यस्तो मत थप बढ्दै जाने दाबी गरे । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) काे राजनीतिक माेर्चा संगठन देशभक्त जनगणतान्त्रिक माेर्चाका केन्द्रीय सदस्य लक्ष्मी चाैलागाइले बर्तमान राज्यसत्ताबाट मुलुककाे समृद्धि सम्भव नहुने भन्दै हालै सम्पन्न स्थानीय तह निर्वाचनले भ्रष्टाचार गर्ने लाइसेन्स नविकरण गरेको टिप्पणी गरिन् ।
देशभक्त जनगणतान्त्रिक माेर्चा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) लुम्बिनी प्रदेश कार्यालय सचिव राजु भुजेल,नागरिक अभियन्ता पदम कार्की लगायतले आ आफ्नो भनाइ राखेका थिए ।






