बुटवल,१४ जेठ ।
सरकारले समायोजन गरी तोकेको भाडा दर नपाएको भन्दै लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले सरकारले तोकेको भाडा दर व्यवहारमा पाउंनु पर्ने भन्दै यही जेठ २० गतेदेखि ट्रकहरु घर र ग्यारेजमा थन्काई ढुवानी कार्य रोक्ने निर्णय गरेका छन् ।
एकातर्फ भारतीय ओभरलोडका गाडीहरुले नेपाली यातयात व्यवसायी मारमा परेका छन भने अर्कोतर्फ उचित भाडादर असुली नहुदा पेशा नै संकटमा परेको गुनासो व्यवसायीले गदै आएका छन ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाईमा लुम्बिनी प्रदेका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा समायोजित भाडा दर कार्यान्वयनका लागि ट्रक व्यवसायीहरुले शनिवार एक कार्यक्रम गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन ।
आन्दोलनका कार्यक्रमसंगै व्यवसायी संस्थाहरुले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरुको प्रतिनिधित्वमा अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीहरुसंग पनि सहकार्य गर्ने निर्णय गरी अघि बढेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।
उनले ट्रक व्यवसायीहरुको पेशा रेड जोनमा पुगेकोले बाध्य भएर व्यवसायीलाई बचाउनका लागि आन्दोलनमा जानु परेको उल्लेख गरे ।
राप्ती ट्रक व्यवसायी समितिका प्रशासनिक सचिव उमेश मजगैयाले भाडा दर कार्यान्वयन नहुंदा ट्रक व्यवसाय धराशायी हुने अवस्थामा पुगेको बताए ।
उनले ढुवानी व्यवसायीहरुले सहयोग गरेमा सरकारले तय गरेको भाडा असुलीमा सहयोग हुने धारणा राखे ।
कार्यक्रममा बाणगंगा ट्रक समितिका सचिव लक्ष्मण भुसालले सरकारले तोकेको भन्दा कम दर रेटमा ढुवानी गर्ने ट्रान्सपोर्ट व्यवसायीलाई वहिस्कार गर्नुपर्ने बताए ।
ढुवानी व्यवसायी संघ बुटवलका अध्यक्ष श्याम हमालले सरकारले पटक पटक समायोजन गरेको ढुवानी भाडा दर कार्यान्वयन नहुंदा व्यवसायी मर्कामा परेको गुनासो गरे ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव हरि कडेलले सरकारले आफैले तोकेको भाडा दर कार्यान्वयन नहुंदा व्यवसायी मर्कामा परेको बताए ।