बुटवल,१४ जेठ ।
जनताले प्रदेश सरकारको अनुभुती हुने गरी बजेट ल्याउन लुम्बिनी प्रदेशका सांसदहरुले सरकार समक्ष आग्रह गरेका छन ।

आज बसेको लुम्बिनी प्रदेश सभाको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक २०७९÷८० का सिद्धान्त र प्राथमिकतामाथीको छलफलमा सहभागि हुँदै प्रदेश सभा सदस्यहरुले वितेको ४ वर्षमा जनताले प्रदेश सरकारको खासै अनुभुती गर्न नसकेको बताउँदै अब आउने बजेटमा जनताले प्रदेश सरकार भएको अनुभुती गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन आग्रह गरको हुन ।

नेपाली काँग्रेसका सांसद अष्टभुजा पाठकले जनताको मन छुने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउन आग्रह गरे ।

पालिकादेखि पालिका जोड्ने पहुँच मार्गलाइ प्राथमिता दिँदै बजेट ल्याउन आग्रह गर्दै उनले भएका घरहरु रहेकोले खरको छाना मुक्त हुने गरी प्रदेश सरकारले बजेट ल्याउनु पर्नेमा जोड दिए ।
यस्तै नेकपा माओबादी केन्द्रका सांसद तथा पुर्वमन्त्री सुर्दशन बरालले जनताले प्रदेश सरकाको अनुभूति हुने खालको बजेट चाहेको बताए । उनले स्थानीय सरकारको अभिभावकत्व ग्रहण गर्ने गरी प्रदेश सरकारले काम गर्नु पर्नेमा जोड दिए ।

सरकारले जनता माथि कर थुपारेर भन्दा करको दायरा बढाउनेतर्फ ध्यान दिनु पर्ने बताउदै उनले सरकार भावुक नभएर शिद्वान्तका आधारमा सञ्चालन हुनुपर्ने बताए ।

नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री लिला गिरीले प्रदेश सभाले दाङमा राजधानी निर्माण गर्ने प्रस्ताव पारित गरेको स्मरण गराउदै राजधानीको पुर्वाधार निर्माणको काम कसरी अघि बढेको छ भनी प्रश्न गरे । उनले उत्पादन बृद्ध गर्नको लागि उद्योगको संख्यामा बृद्धि गर्नु पर्ने भएकाले सरकारले उद्योग र पर्यटन प्रवद्र्धन गर्ने नीति ल्याउनु पर्नेमा जोड दिए ।

यस्तै नेकपा माओबादी केन्द्रका सांसद ईन्द्र प्रसाद खरेलले जनताले प्रदेश सरकारको महशुस गर्न नसकेको बताउँदै अब आउने बजेट मार्फत कृषिलाई जोड दिनु पर्ने बताए ।

कृषकलाई मल चाहिएको बताउँदै उनले सरकारले स्वदेशमा नै मल उत्पादन गर्ने उद्योग सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

यस्तै माओवादी केन्द्रकै सांसद दामा कुमारी शर्माले जनताले परिवर्तनको महशुस हुने गरी प्रदेश सरकारले बजेट ल्याउनु पर्नेमा जोड दिइन् । प्रदेश सरकारले कृषि क्षेत्रमा छुट्टाएको बजेटले कृषकले केही राहत महसुस गरे पनि कृषि उत्पादन बृद्धि र बजारीकरणको सुनिस्चितता सहितको बजेट ल्याउनु पर्ने बताइन् ।

अबको बजेटले उद्योग र पर्यटनलाई प्राथमिकता दिएर प्रदेशमा रोजगारी सिर्जजा गर्नु पर्ने उनको भनाई थियो ।

राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले सरकारले कृषि, उद्योग र पर्यटनसँगै शिक्षा क्षेत्रलाई जोड दिएर बजेट ल्याउनु पर्ने बताइन् ।

बैठकमा नेकपा एमालेका प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री बैजनाथ चौधरी,आरती पौडेल,कमल राज श्रेष्ठ,तुल्सी प्रसाद चौधरी,नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी,पुस्पा थरुनी,नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य गिता थापा,जनता समाजवादीकी निर्मला मुडभरी लगायतले आ आफ्नो भनाई राखेका थिए ।