पुर्ववर्ती सरकारले ९९.९९ प्रतिसत बजेट खर्च गरेको भन्ने दाबी सहि होइन
बुटवल,१४ जेठ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आगामी बजेटमा कृषि,उद्योग र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने बताएका छन् ।
आज बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको प्रदेश सरकारको विनियोजन विधेयक २०७९÷०८० को सिद्धान्त र प्राथमिकतामाथीको छलफलमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री खड्काले आगामी बजेटमा कृषि,उद्योग र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने बताएका हुन् ।
कोभिड–१९ महामारी र अन्तराष्ट्रिय राजनीतिक उतारचडावका कारण मुलुकको अर्थतन्त्र कमजोर बनेको अवस्थामा प्रदेश सरकारले धेरै ठुलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको भन्दै उनले स्थानीय र संघीय सरकारसँग समन्वय र सहकार्य गरेर विकास निर्माणका कार्यलाई अगाडी बढाउने नीति अख्तियार गरिने बताए ।
पुर्ववर्ती सरकारले ९९.९९ प्रतिसत बजेट खर्च गर्न सफल भएको भनि गरेको दाबी सहि नभएको भन्दै उनले पूर्ववर्ती सरकारले खर्च गर्न नसकेको ४ अर्ब रुपयाँ बर्तमान सरकारमा आएकोले बताए ।
उनले पुर्ववर्ती सरकारले ९९.९९ प्रतिसत बजेट खर्च गरेको भए पुर्ववर्ती सरकारले खर्च गर्न नसकेको ४ अर्ब रुपयाँ बर्तमान सरकारको कोषमा कसरी आयो भनि प्रश्न गरे ।
संविधानले परिकल्पना गरेको संघीयताको मर्म र भावना अनुसारको संघीय संरचनाले पुर्णता नपाउदा समस्या भएको बताउदै मन्त्री खड्काले प्रदेशलाई आत्मनिर्भर बनाउने तर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।






