बुटवल,१३ जेठ ।
लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक,२०७९ का सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस भएको छ ।

शुक्रबार बसेकाे प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेश सरकारको विनियोजन विधेयक,२०७९ का सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरेका हुन् ।

प्रदेश सरकारकाे आर्थिक बर्ष २०७९/०८० काे विनियोजन विधेयकमा समावेश हुने वजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामा काेभिड-१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाई प्रदेशका आम नागरिकहरूकाे जनजिवनलाई सामान्य स्थितिमा पुर्‍याई नागरिकको सुख र समृद्धिकाे चाहना पूरा गर्ने नीति,कार्यक्रम र वजेट निर्माण गरि कार्यान्वयन गर्ने उल्लेख छ ।

नेपालकाे संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको विकासको लक्ष्य, पन्ध्रौं आवधिक योजना,प्रदेशको प्रथम आवधिक योजनाले निर्दिष्ट गरेका लक्ष्य तथा उदेश्य,दीगो विकास लक्ष्यका साथै वर्तमान सरकारले गरेका प्रतिवद्वतालाई वजेट तर्जमाकाे आधार र मार्गदर्शनकाे रूपमा लिने मन्त्री खड्काले जानकारी गराए ।

त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रदेश राजधानीकाे भाैतिक संरचना निर्माण,कृषि,स्वास्थ्य,शिक्षा र पर्यटन पुर्वाधारलाई प्राथमिकता दिइएको उल्लेख छ ।

प्रदेशले आफ्नो आयको क्षेत्र विस्तार गरि संघीय सरकारकाे अनुदान उपरकाे परनिर्भरता घटाउदै जाने नीति अख्तियार गर्ने प्रदेश सरकारकाे लक्ष रहेको छ ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि शनिबार बस्ने प्रदेश सभाको बैठकमा छलफल हुने जनाइएको छ ।

आज बसेकाे प्रदेश सभाको बैठकमा प्रदेशको सञ्चार माध्यम सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सेवा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।

प्रदेशको सञ्चार माध्यम सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्य चेतनारायण आचार्य र दीपा बिकले सहभागीता जनाएका थिए ।

त्यस्तै प्रदेश प्रहरी सेवा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथिकाे सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्य भुवनेश्वर चाैधरी,इन्द्र प्रसाद खरेल र कुलप्रसाद पाेखरेलले सहभागीता जनाएका थिए ।