बुटवल,४ बैशाख ।
लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आउँदो तीन दिन तातो हावा चल्ने भएकोले बताएका उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

बैशाख महिना लागे यता लुम्बिनी प्रदेशका रुपन्देहीसहित नवलपरासी, कपिलबस्तु , दाङ, बाके र बर्दिया जिल्लाहरुमा गर्मी बढ्नुकासाथै तातो हावा चल्न थालेको छ ।

आउँदो तीन दिन लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने भएकाले उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार रुपन्देही सहित देशका सात ठाउँको तापक्रम ४० डिग्री सेल्सियस भन्दामाथि पुगेको छ ।
विज्ञहरूले यसअघि नै नेपालमा यस वर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए ।

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार तीन दिनसम्म पश्चिम तराईमा तापक्रम अत्यधिक वृद्धि हुने जानकारी दिए । उनले नेपालमा हिट वेब ‘लू’ सुरु भइसकेकोले सचेत रहन सुझाव दिए ।

जलवायु विज्ञ डा. उप्रेतीले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने धेरै सम्भावना रहेको बताए ।

जलवायुविज्ञ डा. उप्रेतीले नेपालमा समयभन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताए । उनले एक सय २२ वर्षपछि गएको मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको जानकारी दिए ।

लूबाट बच्नका लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरू बिहानको समयमा गर्ने वा तीन बजेभन्दा पछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरि बिहान र बेलुकाको समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने उनको सुझाव छ ।

त्यस्तै धेरै तापक्रम भएको दिनमा कतिपय देशमा ‘वर्क होलिडे’ दिने गरेको उदाहरण दिँदै उनले नेपालमा तापक्रमको सीमा तोकेर त्यही किसिमका उपाय अपनाउनुपर्नेमा जोड दिए । यसबाट बच्न पानी प्रशस्त पिउने, दही, मोही र झोलिलो पदार्थ खाने, प्रेटिन भएको खाना नखाने, कटन र पातलो लुगा लगाउन उनको सुझाव छ ।

भारतको मौसम विभाग र बैंककमा रहेको क्षेत्रीय बहुप्रकोप केन्द्रद्वारा जारी पूर्व चेतावनीमा पनि नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते तातो हावा चल्ने सम्भावना देखाइएको जनाइएको छ ।