बुटवल,१८ बैशाख ।
हरेक वर्ष बुद्ध जयन्ती विशेष समारोहमा प्रधानमन्त्री सहभागी हुने परम्परालाई तोड्दै यो वर्ष प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लुम्बिनी आएनन् ।

लुम्बिनी विकास काेषले बुद्ध जयन्तीमा प्रधानमन्त्री सहभागी हुने जनाए पनि अन्तिम समयमा आएर लुम्बिनीको कार्यक्रममा उपस्थित नहुने जानकारी गराएका हुन् ।

बुद्ध जयन्तीमा प्रधानमन्त्री सहभागी नहुनुमा लुम्बिनी विकास काेष प्रति प्रधानमन्त्रीकाे अविश्वासको रूपमा अर्थ्याइएकाे छ ।

विदेशी दातृ निकायले अनुदानमा दिएका विद्युतीय बस सञ्चालन गर्न नसकेर आलाेचित बनेका काेषका बर्तमान पदाधिकारी तथा कर्मचारीहरू बुद्ध जयन्ती जस्तो विशेष समारोहमा प्रधानमन्त्रीलाई सहभागी गराउन नसक्नुमा लुम्बिनीको व्यवस्थापकीय अक्षमताका रूपमा लिइएको छ ।

गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ ।

सांसारिक मोहको पीडाबाट पूर्णरूपमा जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचाको बिचमा भएको थियो ।

शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको मानिन्छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाले ठुलो महत्त्व छ । उनको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो ।

भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू .५६६ मा भएको मानिएको छ । यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ । भगवान् बुद्ध महावीर जैन भन्दा अघिको देखिन आउँछ । तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।

बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ ।

विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौँ ठुलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलङ्का, बर्मा, थाइल्यान्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।