काठमाडौँ,१८ बैशाख ।
हाल (शुक्रबार बिहान) लुम्बिनी प्रदेशमा पूर्णतया बादल तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोसी र बागमती प्रदेश तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका केही स्थान, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस, लुम्बिनी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका केही स्थान साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ, हुरी, असिनासहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ ।

यसैगरी राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्ने र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हुरी, असिनासहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ ।

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।