बुटवल,४ बैशाख । आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को घाम लागेको छ । तत्काल पानी पार्ने प्रणाली नभएकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् ।
गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । अन्य क्षेत्रमा पनि तापक्रम बढ्दो छ । नेपालगञ्ज, सिमरा, धनगढी, दिपायलको तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेकाे छ ।
काठमाण्डौको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । आज पनि बिहानैदेखि घाम चर्किएकाले अधिकतम तापक्रम बढ्ने मौसमविद् समिर श्रेष्ठले बताए ।
पहाडी क्षेत्रका केही ठाउँमा भने आज बेलुकीपख मौसम आंशिकदेखि सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना छ । तर, अन्य क्षेत्रको मौसम भने सफा रहने मौसमविद्ले बताएका छन् ।








