बुटवल,२ बैशाख ।
लुम्बिनी प्रादेशिक अस्पताल भवनको बोलपत्र विवादमा मुख्यमन्त्री कूल प्रसाद केसीलाई हानिएको तीर तत्कालीन प्रमुख कार्यकारी अधिकृत अन्नतराज घिमिरेतर्फ सोझिएको छ ।
बिवादीत ठेक्का प्रकरणको बिषयमा छानबीन गर्न गठीत कार्यदलले प्रदेश पूर्वाधार प्राधिकरणका तत्कालिन प्रमुख कार्यकारी अधिकृत घिमिरेको काम कारबाही प्रचलित एन कानून बिपरित भएको निस्कर्ष निकालेपछि उनले मुख्यमन्त्री केसीलाई हानेको तीर उनितिरै सोझिएको हो ।
अस्पतालको नयाँ भवन ठेक्का प्रकरणमा मिलेमतो भएको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतबाट इन्जिनियर अन्नतराज घिमिरेले एकाएक टेन्डर रद्द गर्दै चैत १४ गते पदबाट राजीनामा दिँएपछि मुख्यमन्त्री केसी विवादमा तानिएका थिए ।
त्यस विषयमा छानवीन गर्न गठीत मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी संयोजकत्वको ३ सदस्यीय कार्यदलले शुक्रबार प्राधिकरणका अध्यक्ष समेत रहेका मुख्यमन्त्री केसी समक्ष प्रतिवेदन पेश गरेको हो ।
छानबिनका क्रममा बोलपत्र आह्वानदेखि बोलपत्र रद्धसँग सम्बन्धि विषय,बोलपत्र आह्वान गर्ने र बोलपत्रमा उल्लेखित योग्यता, मापदण्ड निर्धारण,बोलपत्र स्वीकृत गर्ने अधिकार स्वयं प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई हुँदा हुँदै टेण्डर प्रक्रियामा सहभागि हुन पाउने मापदण्ड निर्धारण गर्ने बिषयलाई मात्रै प्राधिकरणको अध्यक्ष समक्ष पेश गर्नुनै प्रमुख कार्यकारी अधिकृतको मनसाय दुषित देखिएको प्रतिवेदनले औल्याएको छ ।
टेण्डर प्रक्रियामा मुख्यमन्त्री केसीको सहभागिता आवस्यक नपर्ने भएता पनि मुख्यमन्त्रीलाई बिवादमा तान्नको लागि तत्कालिन प्रमुख कार्यकारी घिमिरेले बैठकको माईन्युटलाई फेरबदल गर्ने,तिथीमिति सच्चाउने काम गरेको पाइएको छानबिन समितिका संयोजक श्रीकृष्ण सुवेदीले जानकारी दिए ।
प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशकले आफ्नो पदीय आचरण अनुकुल काम नगर्दा प्रदेश गौरबको आयोजना विवादमा पर्न गएको र पूर्वाधार विकास प्राधिकिरण प्रति समेत प्रश्न खडा भएको प्रतिवेदनमा उल्लेख छ ।
विधि प्रकृया विपरित टेण्डर खारेजी गर्ने कार्य भएको भन्दै कार्यदलले सिईयोलाई छानविनको क्रममा तत्कालिन कार्यकारी निर्देशकलाई पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआई असहयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।
छानबिन समितिले उक्त प्रकरणमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत घिमिरेको काम कारबाही सैद्धान्तिक मात्रै नभएर प्रशासनिक,कानूनी एवम् अपराध अनुसन्धानको बिषय समेत रहेको औल्याएको छ ।
मुख्यमन्त्री तथा प्राधिकरणका अध्यक्ष कूलप्रसाद केसीले अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियामा विवाद आएपछि तत्कालिन प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई राजिनामा दिन लगाएको जानकारी दिए ।
यसैबीच लुम्बिनी प्रदेश पुर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा छवि पोखरेल नियुक्त भएका छन् ।
नवनियुक्त नवनियुक्त सिइओ पोखरेललाई मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार सपथग्रहण गराएका हुन् ।
प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएपछि मन्त्री परिषद्को बैठकबाट प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गरेको हो । नब नियुक्त प्रमुख कार्यकारी निर्देशक प्यूठान जिल्ला ओखरकोट निवासी हुन् ।
प्राधिकरणको अध्यक्ष मुख्यमन्त्री रहने ब्यवस्था रहेको छ ।






