गुल्मी,१० असार ।
गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

स्थानीय ४१ वर्षीय यमबहादुर कुमालले आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमाललाई दाउराको चिर्पटले प्रहार गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) भीम किरण बोगटीले जानकारी दिए ।

कुटपिटबाट गम्भीर घाइते भएकी मुना अचेत अवस्थामा पुगेकी थिइन् । घटनाबारे जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट धनार्जेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घाइते महिलालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाएको थियो । उनलाई उपचारकै क्रममा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न भएको आराेपमा यमबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक विवेक घलेको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा यमबहादुरले मदिरा सेवन गरेको अवस्थामा श्रीमतीमाथि कुटपिट गरेको खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।