बुटवल,४ असोज ।
नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशनको दोस्रो दिन आज ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन दोस्रो दिन पनि उत्साहपूर्ण रूपमा अघि बढेको हो । निर्वाचन सम्पन्न भएका वडाहरूमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको जनाइएको छ ।
निर्वाचन कार्यक्रमअन्तर्गत कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
यसैबीच रसुवा, नुवाकोट र धादिङका साथै सप्तरी क्षेत्र नं.२ र ४, सिरहा, मोरङ क्षेत्र नं.६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं.२ र परासी क्षेत्र नं.२ लगायतका क्षेत्रमा भने वडा अधिवेशन बाँकी रहेको छ ।
आज सम्पन्न हुन नसकेका तथा बाँकी रहेका वडा अधिवेशन असोज ५ गते सोमबार पनि जारी रहने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका रहेको छ ।






