काठमाडौं,४ असोज ।
रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार आज बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३,धादिङमा ७२,चितवनमा ३६५,गोरखामा ७९, तनहुँमा ३८,नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् ।

फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना संकलन गरी हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डिएनए नमूना संकलन गरिएको छ । पहिचान नभएको एक हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका लागि हालसम्म सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ । बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी भइरहेको छ ।