बुटवल,२८ फागुन ।
गृहमन्त्री बालकृष्ण खाँडले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध थप सुदृढ भएको बताएका छन् ।

शनिबार गृह जिल्ला रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्माण हुने १५ शैयाकाे अस्पतालकाे शिलान्यास गर्दै गृहमन्त्री खाँडले देउवा नेतृत्वको सरकार गठन भएपछि नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध थप सुदृढ भएको बताएका हुन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित नभएको भए अन्तर्राष्ट्रिय जगतमा नेपालकाे छवि बिग्रनुकासाथै विदेशी सहयोग राेकिने भन्दै नेपाली कांग्रेसका नेता समेत रहेका खाँडले संसदबाट एमसीसी पारित भएसँगै नेपालकाे अन्तर्राष्ट्रिय सम्पन्न थप सुदृढ र प्रगाढ बनेको दाबी गरे ।

बिद्युत लाईन र सडक बिस्तार गर्ने उदेश्यले नेपालमा एमसीसी परियोजना ल्याइएको बताउदै उनलेे एमसीसी नेपाल र नेपाली जनताको हितमा रहेको दाबी गरे ।

नेपाली कांग्रेस सत्तामा हुँदा एकथाेक र सत्ता बाहिर हुँदा अर्को कुरा नगर्ने भन्दै गृहमन्त्री खाडले मुलुककाे समृद्धिका लागि प्रधानमन्त्री पद त्यागेर भए पनि पार्टी सभापति तथा प्रधानमन्त्री देउवा एमसीसी पारित गराउन लागिपरेको बताए ।

लुम्बिनीको विकास हुनु भनेको देशकै विकास हुनु हो भन्दै उनलेे समग्र लुम्बिनीको विकासका लागि सरकारले आवश्यक वजेट ब्यवस्था गर्ने प्रतिवद्वता जनाए ।

विश्वब्यापी रूपमा फैलिएको काेभिड -१९ का कारण अन्य मुलुकसँगै नेपालकाे अर्थतन्त्र तहसनहस भएको भन्दै कांग्रेस नेता खाँडले एमसीसी परियोजना मार्फत बिद्युत प्रसारण लाईन बिस्तार भई नेपालमा खपत हुननसकेकाे बिद्युत बिदेशमा बिक्री गरि बिदेशी मुद्रा आर्जन हुने र नेपालमै बिद्युतकाे खपत बढाएर पेट्रोलियम पदार्थको आयात प्रतिष्थापन भई ब्यापार घाटा कम हुने बिश्वास ब्यक्त गरे ।

उनलेे लुम्बिनीमा निर्माण हुन लागेको १५ शैयाकाे अस्पतालले लुम्बिनीका जनतासँगै लुम्बिनी घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरू लाभान्वित हुने बताउदै गृहमन्त्री खाँडले लुम्बिनी क्षेत्रकाे समग्र विकासका लागि आफुले सधै पहल गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा,विज्ञान,युवा तथा खेलकुद मन्त्री वसीउद्दिन खाँले निर्माण हुनलागेको अस्पतालसम्म पुग्ने सडक प्रदेश सरकारले बनाइदिने प्रतिवद्वता जनाए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमाेहन चाैधरीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक फखरूद्दिन खान,नेपाल प्रेस युनियनका केन्द्रीय सभापति बद्री सिग्देल,लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका उपाध्यक्ष गाेविन्द सुवेदी,लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनकै डाक्टर मार्काेश लगायतले आ आफ्नो भनाइ राखेका थिए ।
साे अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर आशिष यादवले अस्पताल निर्माणका लागि १७ कराेड ९५ लाखमा ठेक्का सम्झौता भएको जानकारी गराएका थिए ।