काठमाण्डाै,१२ असोज ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसद‍्मा सरकारसँग जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको आजकाे बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कानून र विधिको शासनको उल्लङ्घन गरेको आरोप लगाए ।

बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले विना कुनै कसुर र अभियोग पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेको दाबी गर्दै सरकारले कानून र विधिको शासनको उल्लङ्घन गरिरहेको बताए । जेन–जी पुस्ताको नाम जोडेर सरकारले सुरक्षा थ्रेट देखाएको भन्दै महरले निन्दा गरे ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारले मध्यरातमा गरेको यो कदमलाई स्टन्टबाजीको संज्ञा दिए । विना पक्राउ पुर्जी, विनाकारण गैरकानुनी पक्राउ गर्दै सरकारले मध्यरातमा अर्को स्टन्ट देखाएको उनको टिप्पणी छ ।

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जबरा पक्राउको घटना केटाकेटी खेलेजस्तो भएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले मानव अधिकारकर्मीलाई समेत भेट्न नदिइएको घटनाप्रति आपत्ति जनाउँदै सरकारले बाटो बिराइरहेको बताए ।

प्रहरीले आइतवार राति साढे १२ बजे महाराजगञ्जमा रहेको निवासबाट पूर्वप्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको थियो ।

१२ घण्टापछि जबरालाई छाडेको प्रहरीले सुरक्षा चुनौतीका कारण प्रहरी कार्यालय लगेको बताएको छ । तर सुरक्षा चुनौती रोक्न के काम भयो भन्नेबारे प्रहरी वा सरकारले अहिलेसम्म आधिकारिक रूपमा केही भनेको छैन ।