काठमाण्डौ,१२ असाेज ।
बाढीपहिरोका कारण पछिल्लो चार दिनमा २१ जनाको ज्यान गएको छ । पाँचजना अझै बेपत्ता रहेका र पाँच जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढी र पहिरोका कारण १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ । विपद्का कारण ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ ।
बागलुङ, पर्वत, मनाङ, पूर्वी नवलपरासी, चितवन, पाल्पा र धनुषा लगायतका जिल्ला र आसपासका क्षेत्रमा बाढी, कटान र पहिरोले जनधनको क्षति गरेको हो । बागलुङमा मात्रै १० जनाको ज्यान गएको छ भने एकजना बेपत्ता छन् । विभिन्न जिल्लाबाट करिब दुई हजार जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।
प्राधिकरणका अनुसार जाजरकोट, म्याग्दी, बागलुङलगायत जिल्लामा बाढी तथा पहिरोमा फसेका व्यक्तिलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा पालिकामार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ ।






