काठमाडौँ,१२ असोज
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

केही दिनअघि प्रसाईंले जेनजी शहीद रसिक खतिवडाकी आमा हुन् । शहीदलाई लिएर प्रसाईंले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ ।

सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भनेर टिप्पणी गरेको भन्दै सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमै रोएकी थिइन् ।

प्रसाईंलगायतले अपमानजनक टिप्पणी गरेको भन्दै उनले साइबर ब्युरोमा उजुरी दिएको जनाइएको छ । उनकै उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

प्रसाईं पटकपटक पक्राउ पर्दै आएका छन् । यसअघि उनी गत साउन १८ गते सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

त्यस्तै, गत भदौ ४ गते उनको घरमा खानतलासी गरिएको थियो । सर्वोच्च अदालतको आदेशमा उनको घरबाट बरामद गरिएका सामान प्रहरीले फिर्ता गरेको थियो ।