बुटवल,१४ फागुन । आज लुम्बिनी सहित चार वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोपख लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । पश्चिमी न्यून चापीय प्रणालीले यी चार वटा प्रदेशमा हल्का वर्षा गराउने सम्भावना रहेको उनको भनाइ छ ।
अन्य तीन वटा वाग्मती, मधेस प्रदेश र प्रदेश-१ मा भने सामान्यतया मौसम सफा रहनेछ । अहिले काठमाण्डौ उपत्यकासहित देशभर घाम लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज राति हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलिदेखि केही दिन कुनै पनि मौसमी प्रणालीको प्रभाव नरहने अनुमान छ । तर प्रि-मनसुन सुरु भएपछि बेलुकीतिर मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।








