बुटवल,२६ माघ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन भएको छ ।
नगरपालिकाको वडा नम्वर ३ सीमानगरमा निर्माण भएको भवनको एक कार्यक्रमका बीच नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी देवी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिका भित्र संचालनमा आएका स्वास्थ्य संस्थाहरुले दिने सोवा गुणस्तरीय रहेको बताउँदै विश्वासका साथ सेवा लिन नगरबासीलाई आग्रह गरे । कतिपय स्वास्थ्य संस्थाहरुले जिल्ला अस्पताल सरहको सुविधा दिए पनि जानकारीको अभावले नगरबासी महंगो सेवा लिन बाध्य हुने गरेको स्मरण गर्दै उनलेे स्वास्थ्य संस्थाको दीगो व्यवस्थापनका लागि नगरपालिकाले योजना निर्माण गरी काम गरिरहेको बताए ।
कार्यक्रममा नगरपालिका उपप्रमुख चौधरीले गरी खाने समुदायका लागि आभारभूत स्वास्थ्य संस्थाको सेवा महत्वपूर्ण हुने बताउदै समयको माग अनुरुप सेवा गुणस्तरीय बन्दै गएकोले सेवा लिन आग्रह गरीन ।
वडा नम्वर ३ का वडा अध्यक्ष टंक तिवारीको अध्यक्षता, स्वास्थ्य संस्था प्रमुख थानेश्वर बस्यालको संचालनमा भएको कार्यक्रममा नेकपा एमालेका नगर सचिव मिनप्रसाद पोखरेल, नेपाली कांग्रेस वडा नम्वर ३ का वडा सभापति केशरी पाण्डे, स्वास्थ्य शाखा प्रमुख मोती प्रसाद पौडेल, वडा नम्वर ४ का वडा अध्यक्ष दिवाकर ढकाल, बुटवल वडा नम्वर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, लगाएतले बोल्दै स्वास्थ्य क्षेत्र अतिआवश्यकीय तथा संवेदनशील भएकाले सवैको पहुजमा हुने गरी विकास गर्नुपर्ने बताएका थिए ।
स्वास्थ्य संस्था २०७७ साल भदौ १७ गते सिलन्यास भएको भवन २०७८ साल बैशाख ३० गते निर्माण सम्पन्न भएको थियो । भवन रु ५३ लाख २४ हजार १५७ रुपौया लागतमा निर्माण भएको संस्था प्रमुख बस्याले जानकारी दिए ।







