रोल्पा,२२ माघ ।
रोल्पा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिदै गएको पाइएको छ ।
तेस्रो लहरको कोरोना भाइरसको संक्रमणको अवस्थाबारे स्थलगत अनुगमनका क्रममा रोल्पा पुगेको लुम्बिनी प्रदेश सरकारको टोलीले सो तथ्य फेला पारेको हो ।

नमुनाको रुपमा समुदायस्तरमा गरिएको परीक्षणमा ६२ प्रतिसतमा संक्रमण पुष्टि भएको पाइएको हो ।
रोल्पामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पाइएपछि अनुगमनमा गएकी लुम्बिनी प्रदेश सरकारका पर्यटन,ग्रामिण तथा सहरी विकास राज्यमन्त्री रीना नेपाल बिकले परीक्षणको दायरा बढाउन र सीमा नाकामा परीक्षणको ब्यवस्था मिलाउन जिल्ला स्तरीय कोभिड–१९ संक्रमण नियन्त्रण तथा ब्यवस्थापन केन्द्रलाई निर्देशन दिइन् ।
कोरोना संक्रमणबाट जनताको जीवन रक्षा गर्न प्रदेश सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै मन्त्री नेपालले कोरोना भाइरस संक्रमण भएर उपचार गर्नेभन्दा पनि संक्रमण फैलिन नदिन सचेत हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लामा कोरोना संक्रमण फैलिएको पाइएपछि तीनवटै सूरक्षा निकायको समन्वयमा तपाईको मास्क खोई अभियान सञ्चालन गरी मास्क बितरण गर्नुका साथै जनचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए ।
सो अवसरमा स्वास्थ्य कार्यालय रोल्पाका निमित्त प्रमुख नोखराज पोखरेल र रोल्पा अस्पतालका निमित्त प्रमुख डा.रणबहादुर बोगटीले जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था बारे जानकारी गराउदै तेस्रो लहरको कोरोना संक्रमणबाट हालसम्म कसैको पनि मृत्यु नभए पनि समुदायस्तरमा संक्रमण फैलिनु चिन्ताको बिषय भएको बताए ।
कोरोना संक्रमणका कुनै लक्षण नदेखिएकाहरुमा समेत संक्रमण पुष्टि भएको बताउदै उनिहरुले रोल्पा जिल्लामा समुदायस्तरमा संक्रमण फैलिएको पाइएपछि खोज र खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी गराए ।
कार्यक्रममा जिल्ला स्थित कार्यालयका प्रमुख,तीन वटै सूरक्षा निकायका प्रमुख तथा प्रतिनिधि,राज्यमन्त्री नेपालका स्वकीय सचिब रोमलाल खनाल,नेपाल यातायात ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष पुष्पा श्रेष्ठ,संसदीय मामिला पत्रकार समाज लुम्बिनीका सदस्य प्रकाश खनाल लगायत सारोकारवालाहरुको सहभागिता रहेको थियो ।







