बुटवल,२१ माघ ।
रुपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल बन्द भएको छ । शुक्रबार भएको बर्षा, हावाहुरी र बिमानस्थल नजिकै परेको चट्याङ्गको कारण टावरमा समस्या आएपछि बिमानस्थल बन्द गरिएको बिमानस्थल कार्यालयले जनाएको छ ।
गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दहालका अनुसार शुक्रबार अपरान्ह करिब ४ बजे टावर नजिकै परेको चट्याङ्गका कारण टावरमा धुवाँ आएको थियो । यसको साथै टावरको तार चुडिएको र रन्वेको पिएपिआइ लाईट बिग्रिएका कारण बिमानस्थल बन्द गरिएको महाप्रवन्धक दहालले बताए ।
पिएपिआइ लाईट मर्मत भए भोली रातीदेखि बिमान अवतरण हुने अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउसो मात्र बिमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको उनले बताए ।
बिमानस्थल बन्द भएपछि भैरहवाबाट काठमाण्डौ र काठमाण्डौबाट भैरहवा आउने यात्रुहरु प्रभावित भएका छन् ।








