काठमाडौं, ७ असोज । नेपालमा बिहीबार थप १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६२९ पीसीआर परीक्षण गर्दा ९४१ र ३ हजार ६१४ एन्टिजेन परीक्षण गर्दा २९८ जना गरी १ हजार २३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३२४ जना काेराेना संक्रमित निकाे भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ । जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसनमा र १,३०६ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३४० जना आईसीयूमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २४५, ललितपुरमा १०७, झापामा ८६, मोरङमा ५६, भक्तपुरमा ५२ र कास्कीमा ४७ जनामा संक्रमण पुष्टि भएको छ ।