बुटवल, ६ असोज ।
बुटवल उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापित भएका पीडितहरुलाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने भएको छ ।
स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक तथा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले पहिरोबाट विस्थापित भएका पीडितहरुलाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले प्रभावित क्षेत्रमा उपमहानगरले गरिरहेका निरन्तरका विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनस्थापनाका कामलाई सहकार्यमा थप प्रभावकारी बनाउने समेत निर्णय गरेको छ ।
हालैको अविरल वर्षापछि आएको पहिरो र बाढीले घर भत्किएका र उच्च जोखिमले घरमा बस्नै नमिल्ने अवस्था उत्पन्न भएर विद्यालयहरुमा आश्रय लिन बाध्य भएका पीडितहरुलाई वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा राहत स्वरुप रकम उपलव्ध गराउने निर्णय भएको प्रमुख सुवेदीले जानकारी दिए ।
पहिरो र बाढीले पूर्ण रुपले घर–आवास क्षति भएर विद्यालयहरुमा आश्रय लिई बसेका र अन्यत्र कुनै घर बसोबास नभएका पीडित परिवारका लागि वडा विपद ब्यवस्थापन समितिको सिफारिसमा विद्यालयबाट तत्काल स्थानान्तरण गरी अन्यत्र बहालमा बस्नका लागि तत्काललाई बहाल खर्च रकममा राहत स्वरुप सहयोग गर्ने निर्णय भएको प्रमुख सुवेदीले बताए ।
बहुप्रकोपको संकटासन्न अवस्थालाई कम गर्न, विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनस्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहका सरकार र संयन्त्रका बीचमा सहकार्यको खाँचो रहेको समेत बैठकले ठहर गरेको छ ।
विस्थापितहरुको पुनःस्थापनाका लागि सम्बन्धित वडाबाट पीडितको माग निवेदन सहित विवरण संकलन गरी जिल्ला विपद ब्यवस्थापन समितिमा सिफारिस गर्ने जनाइएको छ ।
बुटवल उपमहानगरपालिका तिनाउ दानव नदिमा ठुलो बाढी आई कटान गरेको र चुरे क्षेत्रमा रहेका वडा नं. १, २, ३, ४, ५, ६, ११, १२, १३, १७, १८ मा क्षतिको विवरण सहित जिल्ला विपद ब्यवस्थापन समिति, प्रदेश आन्तरिक मामिला तथा संचार मन्त्रालयमा संरक्षण र तटबन्धका लागि सहयोग गर्न उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
यसअघि भदौ १३ गते आएको भिषण वर्षाले बुटवल ३, ४ को ज्योतिनगर, लक्ष्मीनगर चुरे क्षेत्रमा पहिरो गएको थियो । पहिरोले केही घर प्रभावित भएका थिए । सोही दिनदेखि पहिरो प्रभावित क्षेत्रमा लेदो, ढुङ्गामाटो हटाउने काममा उपकरणसहितको उपमहानगरको टोली खटिएको उपमहानगरपालिकाले जनाएको छ ।
त्यसअवधिको कामको विवरण र बिल भपाईलगायतका कागजात सहित प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा रकम निकासाका लागि अनुरोध गर्ने निर्णय भएको वातावरण इन्जिनियर योगेश चापागाइँले जानकारी दिए ।
बुटवल ३, ४ को ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा पहिरोले थुपारेको लेदो, ढुङ्गामाटोको गेग्रेटोलाई प्राविधिकहरुको विशेष निगरानीमा हटाइने भएको छ ।
यसका लागि राष्ट्रपति चुरे संरक्षणसंग समन्वय गरिने उपमहानगरपालिकाले जनाएको छ । बस्तीका धेरै घरहरुमा क्षति पु¥याएको र लेदो, गेग्रेटोसहितको ढुङ्गामाटो तत्काल नहटाए थप जोखिम बढाउने भन्दै उपमहानगरले राष्ट्रपति चुरे संरक्षणलाई यथाशीघ्र पहल थाल्न आग्रह गरेको छ ।
पहिरो गएको क्षेत्र, प्रभावित क्षेत्र र जोखिमका क्षेत्रमा विज्ञ र प्राविधिकको अध्ययनका आधारमा स्थानीय वडा विपद ब्यवस्थापन समिति र सुरक्षा निकायको निगरानीमा थुप्रिएको लेदो, ढुङ्गा, माटोलगायतका जनाइएको छ । यो कामको आवश्यक सहयोग र स्वीकृतका लागि जिल्ला विपद ब्यवस्थापन समिति रुपन्देहीमा अनुरोध गरिएको उपमहानगरले जनाएको छ ।
चौराहा–गोलपार्क खण्ड तत्काल बनाउन माग
बुटवल–बेलहिया ब्यापारिक मार्गको बुटवलको गोलपार्क देखि राजमार्ग चौराहासम्मको सडह खण्डमा निर्माण कार्य ढिलो गरी सुरु भएको र यसले जोखिम बढाइरहेको भन्दै विपद् व्यवस्थापन समितिले ध्यानाकर्षण गराएको छ । आवागमनमा साह्रै कठीनाई उत्पन्न भएको, धुलो र हिलोले जोखिम बढाएकोले तत्काल आवागमन सहज हुनेगरी मर्मत र निर्माणका काम अगाडि बढाउन आग्रह गरेको छ । ठेक्का लागेको लामो समयसम्म यो खण्डका सडकमा पर्ने घरहरु नहटाइँदा निर्माण कार्य प्रभावित भएको थियो भने पछि लामो समयसम्म लगातार झरी परेको भन्दै निर्माण कम्पनीले काम सुरु गरेको थिएन । ढिलोगरी यो खण्डमा काम सुरु भएपनि काम सुस्त गतिमा भएको छ ।






