बुटवल,६ असोज ।
भोली असोज ७ गतेका लागि बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले सुचना टासेर बैठक स्थिगित भएको जानकारी गराएको हो ।

असोज ७ गते दिउँसो १ बजेका लागि तय भएको लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठक असोज १३ गते बुधबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयद्धारा प्रकाशित सूचनामा जनाइएको छ ।

गत भदौ ३१ गते बसेको प्रदेश सभाको बैठक एमालेको अबरोध गरेपछि असोज ७ गते सम्मका लागि स्थगित भएको थियो ।

नेकपा एमालेले कारबाही गरेका प्रदेश सभा सदस्य अजय शाही र बिमला कुमारी खत्री वलीलाई पदमुक्त गरेको सदनलाई जानकारी गराउन माग गर्दै एमालेले प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखिनै बैठक अवरुद्ध गर्दै आएको छ ।

पार्टीले कारबाही गरेका दुई जना प्रदेश सभा सदस्यलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान छ ।

एमालेले पटक पटक प्रदेश सभा बैठक अवरुद्ध गरेपछि सभामुख पुर्णबहादुर घर्तीले दुई जना प्रदेश सभा सदस्यको मुद्धा सर्वोच्च अदालतमा बिचाराधीन रहेको र अदालतमा बिचाराधीन मुद्दाको बिषयमा सदनमा कुरा उठाउन नमिल्ने भन्दै प्रदेश सभा सदस्यहरूलाई सचेत गराएका थिए ।

उनले प्रचलीत कानून, संसदीय अभ्यास तथा प्रदेश सभा नियमावलीमा रहेर आफ्ना गतिबिधि अगाडी बढाउन समेत प्रदेश सभा सदस्यहरुलाई आग्रह गरे ।