काठमाडौं,५ असोज ।
नेपालमा मंगलबार थप १ हजार ३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८३० जना कोरोना संक्रमित निको भएका छन् भने ५ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख ५४ हजार जना कोरोना संक्रमित निको भएका छन् भने ११ हजार ५३ जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेको छ । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७९ जनामा संक्रमण पुष्टि भएको छ ।

आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा धेरै काठमाडौंमा २६१, कास्कीमा १०६, ललितपुरमा ९८, मोरङमा ९६ र सुनसरीमा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनमा ६८, झापामा ५१, भक्तपुरमा ४३, रुपन्देहीमा ३९, मकवानपुरमा २०, कैलालीमा १४, नवलपरासी पुर्वमा १३ र काभ्रेपलाञ्चोकमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।