बुटवल,१७ साउन ।
कपिलवस्तु र कैलालीमा गएराति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा जिपको टक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पछाडि सवार एक युवती घाइते भएकी छिन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–०० १ च २०५४ नम्बरको स्कर्पियो जिपले विपरीत दिशातर्फ जाँदै गरेको लु १४ प ५१९० नम्बरको मोटरसाइकललाई गएराति ११ बजे ठक्कर दिएको थियो ।
घाइते भएका मोटरसाइकल चालक शिवराज नगरपालिका २ हल्लानगरका १८ वर्षीय शिखर विकको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उपचारको क्रममा गएराति पौने १२ बजे मृत्यु भएको हो ।
घाइते भएकी मोटरसाइकल पछाडि सवार सोही ठाउँकी २१ वर्षीया शोभा सेर्पालीलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।
जिप चालकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–८ सेतो पुल नजिक गएराति करिब ११ बजे से ६ प ९७६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार धनगढी ६ कि २८ वर्षीय सम्झना चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी मोटरसाइकल चालक कैलालीकै गोदावरी नगरपालिका ८ का ३६ वर्षीय विनोद चौधरी घाइते छन् । उनको कैलालीमै उपचार भइरहेको छ ।






