‘पहिरो व्यवस्थापन तथा नियन्त्रण स्थानीय सरकारको क्षमताभन्दा बाहिर’
बुटवल,५ असोज ।
नेकपा एमाले बुटवल उपमहानगर कमिटिले बुटवलको ज्योतिनगर क्षेत्रको पहिरो व्यवस्थापन र नियन्त्रणमा ध्यान दिन प्रदेश र संघीय सरकारसँग माग गरेको छ ।

ज्योतिनगर क्षेत्रको पहिरो व्यवस्थापन र नियन्त्रण गर्ने कार्य बुटवल उपमहानगरपालिकाको क्षमता भन्दा बाहिरको कुरा भएको भन्दै त्यसको व्यवस्थापन र नियन्त्रणका लागि आवस्यक कदम अगाडी बढाउन एमालेले प्रदेश र संघीय सरकारसँग माग गरेको छ ।

नेकपा एमाले बुटवल उपमहानगर कमिटिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी पहिरोग्रस्त क्षेत्रको जोखिम नियन्त्रण तथा व्यवस्थापन स्थानीय सरकारको क्षमताले नभ्याउने भन्दै त्यसका लागि प्रदेश र संघीय सरकारले अग्रसरता लिनुपर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा एमाले बुटवल उपमहानगर कमिटिका अध्यक्ष बाबुराम पन्थीले ज्योतिनगरको पहिरो व्यवस्थापन तथा नियन्त्रण स्थानीय सरकारको क्षमता भन्दा बाहिर रहेको भन्दै त्यसमा प्रदेश र संघीय सरकारको ध्यान जानुपर्ने बताए ।

त्यसको व्यवस्थापनमा अर्बौ रकम खर्च हुने अवस्था आईसकेको बताउदै उनले उक्त अर्बौ रकम खर्च गर्ने क्षमता स्थानीय सरकारसँग नभएको जानकारी गराए ।
प्रदेश र संघीय सरकारका योजनामा समेत बुटवल उपमहानगरको आलोचना हुने गरेकोमा असन्तुष्टि जनाउँदै उनले जुन सरकार अन्तरगतका योजना हुन्, ती सरकारलाई नै जवाफदेही बनाउनु जरूरी रहेको बताए ।

उनले सोमबार ज्योतिनगर पहिरोले अवलोकन गर्न गएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि भएको आक्रमणको निन्दा गर्दै आक्रमण गर्ने व्यक्तिविरूद्ध पार्टी मुद्दा मामिलामा नजाने जानकारी गराए ।

कुन योजना कुन तहको सरकारको जिम्मेवारी र दायित्व भित्र पर्छ भन्ने बिषयमा आम जनतामा जानकारी नभएकै कारण जनताको नजिकको स्थानीय सरकारप्रति जनताले आक्रोस पोख्ने गरेको भन्दै अध्यक्ष पन्थीले त्यस बिषयमा पनि पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिए ।

कार्यक्षेत्रगत जिम्मेवारीबारे आम जनतामा जानकारी नभएका कारण स्थानीय सरकारसँग जनतामा आक्रोस देखिनु स्वभाविक भए पनि सूरक्षाकर्मीकै अगाडी मेयरमाथी आक्रमण हुनुले घटना कसैको उक्साहटमा भएको त होइन ? भन्ने आशंका उत्पन्न भएको उनको भनाई थियो ।

‘घटना जसरी भयो, त्यो गलत छ। तर, यश घटनलाई मुद्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौं,’ उनले भने। उनले घटना नियोजित रूपमा भएको आशंका रहेको बताए ।

पहिरो निरीक्षणका लागि बुटवल-३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई सोमबार पङ्गेनीले मुक्का प्रहार गरेका थिए। पंगेनिलाई साँझ ७ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनी पहिरो प्रभावित हुन्। ज्योतिनगर र लक्ष्मीनगरमा पहिरोले २ दर्जन घरमा क्षति पुगेको छ।

नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हानेपछि पार्टीभित्र पनि बहस सृजना गरेको छ। मेयर सुवेदीमाथिको आक्रमणलाई भने बुटवल उपमहानगरले नियोजित भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको थियो।