काठमाडौं, ४ असोज । नेपालमा साेमबार थप १ हजार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७८६ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षण गर्दा १२० जना गरी १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९५७ जना काेराेना संक्रमित निकाे भएका छन् । यो संख्या पछिल्लो २४ घण्टामा देखिएका संक्रमितको संख्याको दोब्बर भन्दा बढी हो । त्यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोराेना संक्रमितको मृत्य भएको छ ।

नेपालमा हालसम्म ७ लाख ५२ हजार १७० जना काेराेना संक्रमीत निकाे भएका छन् भने मृत्‍यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १४३२ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कुन जिल्लामा कति जनामा काेराेना संक्रमण पुष्टि ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौं २९८, झापामा १५९, भक्तपुरमा ६३ र मोरङमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा ४४, रुपन्देहीमा ३७, ललितपुर र कैलालीमा ३५/३५ जना, काभ्रेपलाञ्चोकमा २८, चितवनमा २२, बागलुङमा २१, नुवाकोट र कास्कीमा १७/१७ जना तथा मकवानपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएको छ ।