बुटवल,४ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूल प्रसाद केसीले जनताको स्वास्थ्य सूरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
सोमबार लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयमा आयोजित प्रतिमान–निमा मेमोरोरियल प्रतिष्ठानद्धारा लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेका स्वस्थ्य सामग्री ग्रहण गर्दै मुख्यमन्त्री केसीले सामान्य विकास खर्च कटौती गरेर भए पनि प्रदेश सरकारले जनताको स्वास्थ्य सूरक्षा गर्ने बताएका हुन् ।
प्रदेश सरकारले मुटुको भल्भ फेर्न, क्यान्सर रोगी र मृगौला रोगिको उपचारका लागि थप २–२ लाख सहयोग गर्ने निर्णय गरेको जानकारी गराउदै उनले प्रदेशमै विशेषज्ञ अस्पतालबाट सेवा दिनसक्ने गरि काम अघि बढाएको बताए ।
कोरोना भाइरस संक्रमणबाट जनतालाई जोगाउन प्रदेश सरकार लागि परेको भन्दै उनले कोरोना खोपलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले खोजको व्यवस्थापन गर्न लागेको बताए ।
तेस्रो भेरीयन्टको कोरोना भाइरसबाट बालबालिकाहरुलाई समेत असर गरेको भन्दै उनले प्रदेश सरकार अन्य प्रदेशमा भन्दा पहिला लुम्बिनी प्रदेशमा १८ बर्षमुनीका बालबालीकाहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने तयारीमा लागेको जानकारी गराए ।
प्रतिष्ठानका उपाध्यक्ष तथा पुर्वमन्त्री दिपक बोहराले स्वस्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री केसीलाई दुई करोड बराबरका स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका हुन । कार्यक्रममा मुख्यमन्त्री केसीले प्रदेश सरकारको प्राथमिकताका रुपमा खोप भएको बताए ।
अमेरिकास्थित होप ईन्टरनेश्नल परियोजना र प्रतिष्ठानको सहकार्यमा पिपिई, मास्क, फेस सिल्ड, डिजिटल थर्मामिटर, आईसोलेसन गाउन, ईमेरजेन्सी रिलिफ लगायत ११ प्रकारका सामग्रीहरु हस्तान्तरण गरिएको कार्यकारी निर्देशक स्वाति थापाले बताइन ।
कार्यक्रममा स्वस्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देवकोटाले प्राप्त सामाग्रि आवस्यकताका आधारमा प्रदेशका सबै जिल्लामा बितरण गरिने बताए ।






