बुटवल,४ असोज ।
बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य भएको खुलेको छ ।

मेयरलाई मुक्का प्रहार गर्ने पहिरो पीडित एमाले कार्यकता गणेश पंगेनी रहेको पुष्टि भएको हो ।

उनि अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् । बुटवलको ज्योतिनगर आसपासमा गएको पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीलाई पंगेनीले सोमबार बिहान मुक्का प्रहार गरेका थिए ।

पटक पटक गएको पहिरोका कारण दर्जन बढी घर क्षेतिग्रस्त भएको सो क्षेत्रमा रातिदेखि परेको पानीले पुनः पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाएपछि उपमहानगरका प्राविधिक सहित प्रमुख सुवेदी प्रभावित क्षेत्रमा गएका थिए ।

सोही क्रममा नुरुप्रसाद पंगेनीका छोरा २६ वर्षीय गणेश पंगेनीले मेयर सुवेदी माथि मुक्का प्रहार गरेका थिए । पहिरोका कारण घर पूर्ण रुपमा क्षती भएपछि पहिरो पीडित नुरुप्रसादको परिवार आफन्तीको बस्दै आएको छ । पंगेनीको परिवारमा ५ जना रहेका छन् । उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत रहेको बताइएको छ ।

विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले घर क्षेतिग्रष्त भएर बिस्थापित हुनुपर्ने अबस्था आउदा समेत स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको उनको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

पहिरोबाट घर लगायत घरमा भएका सबै साम्रगी पूर्ण रुपमा क्षति हुँदा समेत राज्यले सहयोग नगरेको भन्दै उनी आक्रोशित थिए ।
मेयर सुवेदी नेकपा एमाले रुपन्देही जिल्ला कमिटी अध्यक्ष हुन् ।