बुटवल,१ असाेज । कंक्रिटजन्य वस्तु उत्पादन गर्ने एशियन कंक्रिटोले नेपाल गुणस्तर चिन्ह प्राप्त गर्न सफल भएको छ।
कम्पनीले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी नेपाल गुणस्तरचिन्ह पाएको जानकारी गराएको हो । नवलपरासीमा रहेको यस उद्योगले गत वैशाखमा नेपाल गुणस्तरचिन्ह पाएको जनाएको छ ।
कंक्रिटजन्य बस्तु उत्पादन गर्ने उद्योगहरुमा नेपाल गुणस्तर ‘एनएस’ चिन्ह प्राप्त गर्ने एसियन कंक्रिटो पहिलो भएको कम्पनीका अध्यक्ष मनिष रुङ्गटाले जानकारी दिए । उनलेे यूरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको बताए ।
सरकारले यससम्बन्धी मापदण्ड बनाएपछि एसियन कंक्रिटोले नेपाल गुणस्तर (एनएस) लिएको तथा अहिले सोही अनुरुप उत्पादन गर्दै आएको छ रूङ्गटाले बताए । उनले भने, ‘नेपालमा यस्ता सामग्रीको मापदण्ड बनिनसकेको अवस्थामा हामीले यूरोपियन तथा भारतीय मापदण्डलाई अनुशरण गरेर विभिन्न सामग्री बनाइरहेका थियौं ।’
उद्योगले ३० वटा विभिन्न निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको छ । यसमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिन्ह्र प्राप्त गर्ने पहिलो प्रोडक्ट भएको कम्पनीका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए ।
उद्योगले बनाइरकेको कर्बस्टोन सडकको छेउ किनारा तथा डिभाइडरमा प्रयोग हुनेगरेको छ । यस्तै इन्टरलक ब्लक फूटपाथदेखि शहरी क्षेत्रका भित्री सडक बनाउन प्रयोग हुन्छ ।






