बुटवल,३१ भदौ ।
एमालेकाे अबरोधपछि लुम्बिनी प्रदेश सभाकाे बैठक असाेज ७ गतेसम्मका लागि स्थगित भएको छ ।
आज प्रदेश सभाको नवाैं अधिवेशनकाे पाँचौं बैठक सुरु भएलगत्तै नेकपा एमालेले बैठक अबरुद्ध गरेका हुन् ।
सभामुख पूर्णबहादुर घर्तीले बैठकको कारबाही सुरु गरेलगत्तै एमाले प्रदेश सभा सदस्यहरूले नाराबाजी गरेका थिए ।
निर्धारित समयभन्दा करिब पाैने घण्टा ढिला सुरु भएको प्रदेश सभाकाे बैठक सुरु हुनासाथ एमाले प्रदेश सभा सदस्यहरूले टेबुल ठटाएर बिराेध गर्नुका साथै नाराबाजी गरेका थिए ।
एमाले प्रदेश सभा सदस्यहरूकाे अबरोधका कारण एक घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
त्यसपछि मुख्यमन्त्री कुलप्रसाद केसी सहित बिपक्षी एमाले र सत्तारूढ दल नेपाली कांग्रेस,माओवादी केन्द्र,जनता समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमाेर्चाबीच सदन सुचारू गर्ने बिषयमा छलफल भए पनि सहमति हुन सकेन ।
एकघण्टा स्थगित भएर आजै बसेकाे एकालेकाे अबरोधकाबीच अर्को बैठकमा सभामुख पुर्णबहादुर घर्तीले अदालतमा बिचाराधिन मुद्दाको बिषयमा सदनमा कुरा उठाउन नमिल्ने भन्दै प्रदेश सभा सदस्यहरूलाई प्रचलित कानुन र नियमावली बारे सचेत गराएका थिए ।
नेकपा एमालेले कारबाही गरेका प्रदेश सभा सदस्य अजय शाही र बिमला कुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेकाे अडान छ ।






