बुटवल,३० भदौ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खनाल,माधव कुमार नेपाल र पुषकमल दाहाल प्रचण्डले विकास गर्न नसकेकाे र विकास गर्छु भन्दा आफुलाई पनि गर्न नदिएकाे आराेप लगाएका छन् ।

नेकपा एमाले रुपन्देहीले आज बुधवार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले
उक्त आराेप लगाएका हुन् ।

कम्युनिस्ट पार्टीका नाममा प्रधानमन्त्री बन्ने मौका पाएका झलनाथ खनाल, माधव नेपाल, प्रचण्डले विकास गर्न नसकेको आरोप लगाउदै उनलेे भने-‘उनीहरूले गरेनन्, मैले काम गर्छु भन्दा दिएनन् ।’
माओवादी केन्द्रका मुख्य नेताहरू एमाले मै रहेको भन्दै उनले
नेकपाबाट प्रचण्ड गुटमात्रै अलग भएको बताए ।
उनलेे माधव नेपालको बुद्धिमा लागेर प्रचण्डले आफनो नेतृत्वको सरकार ढालेको आरोप समेत लगाए ।
नेकपा एमाले देशभर समाज सेवा केन्द्र बनाएर नागरिककाे सेवामा लाग्ने अध्यक्ष ओलीकाे भनाइ थियोे ।

विकास विरोधी तत्त्वले आफनो सरकारलाई विस्थापित गरेको दाबी गर्दैन ओलीले चुनावपछि एमाले सरकारमा आउने र विकासलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले आउँदाे चुनावपछि एमाले पुनः सत्तामा जाने दाबी गरे । एमालेबाहेक समृद्धिकाे खाका कसैले पनि कोर्न नसक्ने उनको दाबी थियोे ।
उनलेे माधव नेपालले नेतृत्व गरेको पार्टीले देशभर एक सिट पनि जित्न नसक्ने दाबी समेत गरे । ओली सरकारले ल्याएको लोकप्रिय बजेटलाई प्रतिस्थापन गरेर वर्तमान सरकारले जनविराेधी काम गरेको पौडेलले आराेप लगाए ।

अर्का उपमहासचिव घनश्याम भुसालले एमाले भाँडिएको भन्दै समीक्षा गरेर अगाडि बढ्नुपर्नेमा जाेड दिई । ‘गल्ती गर्नेहरू सबैले समीक्षा गरौँ यो कुरा माधव नेपालमा पनि लागू हुन्छ’, उपमहासचिव भुसालले भने । एमालेलाई कमजोर बनाउने र उत्ताउलो बन्ने छुट नभएको बताउदै उपमहासचिव भुसालले पार्टीको आउँदाे महाधिवेशनले एमालेलाई साङ्गठनिक रूपमा समेत व्यवस्थित गर्ने बिश्वास व्यक्त गरे ।

नेता टोपबहादुर रायमाझीले असफल नेताहरूले एमालेलाई घेराबन्दीमा राख्ने प्रयास गरेकाे आराेप लगाउदै एमाले त्यसलाई चिर्दै अगाडि बढ्न सक्षम रहेको दाबी गरे । चुनाव जित्ने हैसियत नभएपछि माधव नेपाल प्रचण्ड–कांग्रेसको शरणमा पुगेको रायमाझीकाे आरोप थियोे ।