बुटवल,२९ भदौं ।
बुटवलको मोतिपुर स्थित मोतिपुर औद्योगिक करिडोर क्षेत्र वरपर बनाइएका टहरा तथा भुपडी प्रहरीले जलाईदिएको छ ।

सुकुम्बासीकाे नाउँमा मोतिपुर औद्योगिक करिडोर क्षेत्रकाे जग्गा समेत अतिक्रमण गरेर झुपडी तथा टहरा बनाउने क्रम बढ्न थालेको भन्दै प्रहरीले त्यस क्षेत्रमा बनाइएका संरचना आगाे लगाएर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जनाएको छ ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा विभिन्न क्षेत्रबाट मानिसहरु जम्मा भएर जग्गा कब्जा गर्ने तयारी गरे पछि स्थानिय प्रशासनले साेमबारदेखी लागु हुने गरि सो क्षेत्रमा निषेद्याज्ञा जारी गरेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अतिक्रमण बढ्न सक्ने संकेत पाइएकोले निषेद्याज्ञा लगाईएको जानकारी दिए ।

केही समूहहरु सक्रिय भएर जग्गा कब्जा तथा प्रतिकार सम्मको योजना बनाएको सूचना पाएपछि सो क्षेत्रमा निषेद्याज्ञा लागु गरेको तामाङको भनाई छ । एक हजार जनाको संख्यामा सदस्य बनाउने र प्रतिकारमा समेत उत्रने रणनिति बनेको सूचना प्राप्त भएपछि औद्योगिक कोरिडोर भित्रको चारकिल्ला तोकेर निषेद्याज्ञा जारी गरेकाे प्रजिअ तामाङले बताए ।

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्यालय प्रमुख निमेश अधिकारीले मोतिपुरमा बसिरहेका र संघर्ष गरिरहेका नभई अन्यत्रबाट आएर कब्जा गर्न खोजेको बताउँछन् । डिपिआर भै सकेको र वातावरणीय प्रभाव मूल्याङ्कनको चरणमा रहेको औद्योगिक क्षेत्रमा अहिले फेरी केही ब्यक्तिहरुको उक्साहटमा कब्जा गर्न खोजिएकोले प्रशासनको सहयोग लिएर अतिक्रमण गरि बनाइएका संरचना आगाे लगाएर नष्ट गरिएको अधिकारीको भनाई छ ।

बुटवलको नयाँ गाउँ, बेलवास, गोलपार्क, बुद्धनगर, मजुवा, दिपनगर लगायतका ठाउँबाट आएकाहरुले मोतिपुर करिडोरको जग्गा कब्जा प्रयास गरेका हुन् । निःशुल्क जग्गा पाईने लोभ देखाएर केही ब्यक्तिहरुले सोझा साझा जनताको प्रयोग गरिरहेकाे प्रशासनकाे दाबी छ । स्थानीहरु भन्दा पनि बुटवल क्षेत्रमा मजदुरी गर्न आएकाहरुलाई प्रयोग गरी कब्जाको प्रयास गरिएको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

जग्गा कब्जा गर्न आएकाहरु दैनिक ३ घण्टाको पालो कुर्ने गरेकाे साे कार्यमा सहभागी एक युवाले बताए । भदौ १ गते देखी नै जग्गा कुर्दै आए पनि अहिले प्रहरीले सो क्षेत्रबाट उनीहरुलाई लखेटेको छ ।

गत फागुन २१ गते स्थानीय जनताको ढुंगामुढा सहितको बिराेधकाबीच तत्कालिन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले साे क्षेत्रमा औद्योगिक क्षेत्र करिडोरकाे शिलान्याश गरेका थिए ।
सरकारले मोतिपुर औद्योगिक क्षेत्रलाई व्यवस्थापन गर्ने क्रममा ८ सय १३ बिगाहा जग्गा अधिग्रहण गरेको थियो । त्यसमा मोतिपुरमा ५५ वर्षदेखि बसोबास गर्दै आएका तीन हजार ६२ परिवारको २ सय ५० विगाहा जग्गा पनि परेपछि स्थानीय २०७३ सालदेखि नै आन्दोलित छन् ।

औद्योगिक क्षेत्र निर्माणको लागत १२ अर्ब रुपैया रहेको छ । मोतिपुर औद्योगिक क्षेत्रमा २ सय ६२ वटा प्लट हुनेछन् । विद्युत, पानी, ढल निकास, सडक, स्वास्थ्य क्लिनिक लगायतका पूर्वाधारहरु बन्ने गुरुयोजनामा उल्लेख छ । ५ वर्षसम्म उद्योगीले भाडा समेत तिर्नुपर्ने छैन । यो औद्योगिक क्षेत्रमा वर्षमा २ वर्षभित्रै न्युनतम पूर्वाधार निर्माण गरी उद्योग खोल्न जग्गा दिने योजना छ ।

ठूला उद्योगका लागि १ सय १९ वटा, मझौला उद्योगका लागि ५१ वटा र साना उद्योगका ९२ वटा प्लट निमाण हुनेछन् । औद्योगिक क्षेत्रमा १३३ केभि लाईनको विद्युत सवस्टेशन हुनेछ । खानेपानीका लागि डिप बोरिङ रहने योजना छ ।