दाङ,१७ भदौ ।
जिल्ला प्रशासन कार्यालय दाङले दाङको सिस्ने खोलामा पुल निर्माणको जिम्मा लिएको ठेकेदारलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै प्रशासनले श्री एडभेन्चर जेबी जेभीका प्रतिनिधि यज्ञ केसीलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

निर्माण व्यवसायी केसीलाई तत्काल पक्राउ गरी कार्यालयमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

गएको साउन २५ गते नै पुल सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिए पनि अटेर गरेपछि ठेकेदार केसीलाई पक्राउ गर्न निर्देशन दिएको उनले बताए । यसअघि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले ठेकेदार केसीलाई पक्राउ गर्न निर्देशन दिए पनि प्रहरीले पक्राउ गरेको थिएन ।

गएराति सिस्ने खोलाले कार बगाउँदा चार जनाको मृत्यु भए पछि ठेकेदारमाथि कारबाही गर्न दबाब परेको हो ।