दाङ,१७ भदौ ।
खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्यु भएको छ । दाङको सिस्ने खोलामा आएको बाढीले कार बगाउँदा चार जनाको मृत्युु भएको हो ।
भारतसँगको सीमा नाका रुपैडियाबाट किनमेल गरेर फर्कँदै गर्दा गएराति प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको प्रहरीले जनाएको छ । बाढीले कार बगाउँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको हो । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका-१६ का जगत श्रेष्ठकी छोरीहरु ३२ वर्षीया सुशीला श्रेष्ठ र ३० वर्षीया राधिका श्रेष्ठ कुँवर ज्यान गएको हो ।
यस्तै कारमा रहेका घोराही–१३ का ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको पनि मृत्यु भएको छ । कार चालकलाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । चालक घोराही-१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको छ ।
पुनको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






