बुटवल,१५ भदौ ।
लुम्बिनी प्रदेशसकी प्रदेश सभा सदस्य रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी छन् ।
उनलेे आज दाङ स्थित निर्वाचन आयाेगकाे प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराएकी हुन् ।

लुम्बिनी प्रदेश निर्वाचन आयाेगका निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको आयाेगले पुष्टि गरेको छ ।
एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन् ।
दल बिभाजन सम्बन्धि अध्यादेश मार्फत नयाँ दल दर्ता भएपछि दल राेज्न पाउने प्रावधान अनुसार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले दल राेज्ने क्रम जारी रहेका बेला उनलेे नेकपा एकीकृत समाजवादी पार्टी राेजेकी हुन् ।
घर्तीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेसँगै लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संख्या ६ पुगेको छ। ८० सदस्यीय प्रदेश सभामा एमालेका ३७ जना प्रदेश सभा सदस्य थिए । लुम्बिनी प्रदेश सभामा अब एमाले प्रदेश सभा सदस्यकाे संख्या ३६ भएको छ।

बागमती प्रदेश सभाका १२ जना र सुदुरपश्चिम प्रदेशका १० जना प्रदेश सभा सदस्यहरूले पनि आजै प्रदेश निर्वाचन आयाेगकाे कार्यालयमा गएर नेकपा एकीकृत समाजवादी पार्टी राेजेका थिए ।