काठमाडौं,१४ भदौ । बिगत चार दिनयता देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोका कारण १२ जनाको मृत्यु भएको छ ।
घटनामा तीन जना अझै बेपत्ता रहेका छन् भने ९ जना घाइते भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार पछिल्लो ४ दिनयता आएको बाढीले करिब ५ हजार घर डुबानमा परेका छन् भने ९० हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् ।
केही दिनदेखिको वर्षाले रुपन्देही, नवलपरासी, कपिलवस्तु,
पाल्पा, दाङ, बाँके,सुर्खेत , कैलाली काभ्रे, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, उदयपुर, सिरहा, सर्लाही, रौतहट, धनुषा, झापा लगायतका जिल्ला बढी प्रभावित भएका छन् ।
बाढी पहिरो पीडितलाई पालिकामार्फत उद्धार र राहतको काम भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।
उद्धार र राहत आवश्यक परेमा नजिकको प्रहरी र आफ्नो पालिकामा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।







