बुटवल,१ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा ४५ मत र विपक्षमा २६ मत परेको हो ।

मतदान प्रक्रिया सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेको औपचारिक घोषणा गरे ।

मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदहरूले विश्वासको मत दिएका छन् । त्यस्तै नेपाली काङ्ग्रेस र जनमत पार्टीका सांसदहरूले विपक्षमा मतदान गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मतदान प्रक्रियामा तटस्थ बसेको छ ।
आचार्यलाई एमालेका २९, नेकपाका १२ मध्ये ११ , जसपा नेपालका ५ मध्ये ४ र जनमोर्चाको १ मत आएको हो ।

प्रदेश सभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए । यस्तै ३ जना तटस्थ रहेका थिए । सत्ता पक्ष नेकपाका एक सांसद विदेश भएकाले अनुपस्थित भइन् भने जसपा नेपालकी अम्बिका काफ्ले पनि अनुपस्थित भइन् । प्रदेश सभा सचिवालयका अनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित भए ।

प्रदेश सभामा एमाले, नेकपासँगै जसपा नेपाल, राजमो सत्तारुढ बनेका छन् भने कांग्रेस, जनमत विपक्षमा देखिएका छन् । राप्रपा भने तटस्थ रहेको छ ।

जसपा नेपाललाई सरकारबाट हट्न पार्टी केन्द्रले निर्देशन दिएपनि यहाँको संसदीय दलको निर्णयबाट सरकारलाई समर्थन गर्दै एमाले नेतृत्वको सरकार जोगाएको हो ।

प्रदेशसभामा भएको यस मतदानसँगै आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारले निरन्तरता पाउने भएको छ ।
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् ।