काठमाण्डाै,१ भदौ ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाहलाई निर्देशन दिएका छन् ।

आजकाे प्रतिनिधिसभा बैठक शुरू भएलगत्तै प्रमुख प्रतिपक्षीसहितका दलका सांसदहरूले उठेर विरोध गरेसँगै सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसदमा आएर प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् ।

गएकाे जेठ १७ गते प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यस क्रममा उनले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको दाबी गरेका थिए ।

साढे २ महिनासम्म प्रधानमन्त्रीले यसबारे स्पष्टीकरण दिएका छैनन् । विपक्षीले विरोध गरिराखेपछि सभाको आजकाे बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई सांसदहरूकाे प्रश्नकाे जवाफ दिन निर्देशन दिएका छन् ।

उनले भने, ‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमाोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।’

सभामुखले प्रधानमन्त्री शाहलाई निर्देशन दिएलगत्तै विपक्षी दलहरूले टेबल बजाएर समर्थन गरेका थिए ।