बुटवल,३१ साउन ।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको अधिवेशनको मितिलाई लिएर भएको विवाद हातपातसम्म पुगेको छ ।

भैरहवास्थित संघको कार्यालयमा भएको बैठकका क्रममा विवाद भएपछि कार्यवाहक अध्यक्ष रमेश बेल्बासेमाथि लुम्बिनी निर्माण व्यवसायी महासंघका प्रदेश महासचिव विनय ज्ञवालीले हातपात गरेको जनाइएको ।

बैठक स्थगित भएपछि उत्पन्न विवादका क्रममा ज्ञवालीले आफूलाई मुक्का प्रहार गरेको बेल्बासेले बताएका छन् । मुक्का प्रहारबाट आफ्नो कानको जालीमा असर परेकोले उपचार गराउनुपरेको उनले बताए ।

ज्ञवाली लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका पूर्वअध्यक्षसमेत हुन् । संघको नेतृत्व र आगामी अधिवेशनको मितिका विषयमा केही समयदेखि विवाद रहँदै आएको अवस्थामा पछिल्लो घटना बाहिर आएको हो ।

बेल्बासेका अनुसार गत जेठमा बसेको संघको कार्यसमिति बैठकले आगामी मंसिर १२ र १३ गते अधिवेशन गर्ने निर्णय गरिसकेको थियो । उक्त निर्णय महासंघको प्रदेश समितिलाई समेत जानकारी गराइएको उनको भनाइ छ । तर, संघका सदस्य शुभम रौनियारले असोजमै अधिवेशन गर्नुपर्ने भन्दै बैठकमा विषय उठाएपछि विवाद चर्किएको बेल्बासेले बताए ।

अहिलेको कार्यकाल मंसिरसम्म रहेकाले मंसिर १२ र १३ गते अधिवेशन गर्ने निर्णय कार्यसमितिबाटै भएको जनाइएको छ ।

घटनापछि बेल्बासेले वडा प्रहरी कार्यालय सिद्धार्थनगरमा कारबाहीको माग गर्दै उजुरी दिएको बताएका छन् । त्यहाँबाट समस्या समाधान नभएको भन्दै अब जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दिने तयारीमा रहेको उनले बताए ।

यता, महासंघका प्रदेश महासचिव विनय ज्ञवालीले भने बेल्बासेले आफूलाई अमर्यादित शब्द प्रयोग गरेर बोलेपछि हातपात गरेको स्वीकार गरेका छन् । यद्यपि, घटनाको कारण र परिस्थितिबारे दुवै पक्षका भनाइ फरक–फरक छन् ।

संघको नेतृत्व विवाद यसअघि पनि अदालतसम्म पुगेको थियो । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएपछि संघकी अध्यक्ष मञ्जु ज्ञवाली भुसालले महासचिव प्रितम रौनियारलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी थिइन् । उक्त निर्णयविरुद्ध अदालतमा मुद्दा परेपछि नेतृत्वको जिम्मेवारीमा फेरबदल भएको थियो । त्यसपछि रमेश बेल्बासे कार्यवाहक अध्यक्ष बनेका हुन् ।

पछिल्लो विवादपछि बेल्बासे पक्षका निर्माण व्यवसायीहरूले महासंघका प्रदेश महासचिव ज्ञवालीमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् । उनीहरूले निर्माण व्यवसायी संघको विवादमा हातपात गर्ने व्यक्तिलाई प्रदेश महासचिवको जिम्मेवारीबाट हटाउनसमेत माग गरेका छन्।

अधिवेशनको मिति र संघको नेतृत्वसम्बन्धी विवाद संस्थागत प्रक्रियाबाट समाधान गर्नुपर्नेमा विवाद व्यक्तिगत आरोप–प्रत्यारोप र हातपातसम्म पुगेपछि निर्माण व्यवसायी वृत्तमा समेत चासो बढेको छ ।