काठमाण्डौ,१ भदौ ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ ।

गएराति देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको अनुमान छ ।

यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै ठाउँ, मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ ।

ठूलो वर्षा र मेघगर्जनसहितको वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।