बुटवल,१३ भदौ ।
अविरल बर्षासँगै गएको पहिरोका कारण आइतबार विहान देखी अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड बेलुका सम्म पनि सुचारु हुन नसक्दा सयौं सवारी साधन बिच बाटोमै रोकिन बाध्य भएका छन् ।
राजमार्गका खसेको धेरै ठाउँको पहिरो पन्छाए पनि पाल्पाको डुम्रेमा झरेको नयाँ पहिरोका कारण सडक सुचारु हुन नसकेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
पाल्पाकै सिद्धबाबा,केराबारी लगायत ठाउँका पहिरो पन्छाए पनि १० बजेतिर तानसेन नगरपालिका ८ डुम्रेमा अर्को पहिरो गएकोले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।
पहिरोले डुम्रेका स्थानीय देवबहादुर सारुको २ तले पक्कि घर बगाएको पाल्पाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।
बर्षाका कारण सिद्धार्थ राजमार्गका एक दर्जन स्थानमा पहिरो गएपछि आइतबार विहानैदेखि बुटवल– पाल्पा सडक अवरुद्ध भएको थियो ।






