योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री नियुक्त

बुटवल,१३ भदौ ।
लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन् ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै आयोगको सदस्यमा गुल्मीका डा.दामोदर भुसाल र कपिलवस्तुका शिवपुजन यादव, नियुक्त भएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।

५ सदस्यीय आयोगमा एक महिला सहित २ सदस्य पछि नियुक्त गर्ने उनले बताए ।

बैठकले शहरी तथा ग्रामिण विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई प्रदेश राजधानी व्यवस्थापन समिति संयोजकको जिम्मेवारी दिएको छ भने प्रदेश पदक सिफारिस समितिमा कपिलबस्तु कृष्णनगरका ब्रम्हानन्द उपाध्याय,पाल्पाका यज्ञ पोखरेल र रुकुमका जुन कुमारी रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रदेश सरकारले कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि संसोधन गरी रुकुमपूर्व र रोल्पाको उत्तरी भेगका कर्मचारीहरुको सरुवा डेढ बर्ष र अन्य क्षेत्रका कर्मचारीको दुई बर्षमा सरुवा गर्ने निर्णय समेत गरेको प्रवक्ता खड्काले जानकारी दिए ।

कर्मचारीहरुको सरुवा भदौं १५ देखि भदौ मसान्त सम्म र असोज १ देखि १५ सम्म गरी दुई चरणमा गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यस्तै बैठकले हालै आएको बाढी पहिरो पिडितहरुलाई तत्काल राहत र पुनस्र्थापनाका लागि प्रदेशका सबै जिल्ला प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताए ।