दाङ,१३ भदौ । राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहमाथि भएकाे दुर्व्यवहारको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

अस्पतालका आईसीयू सेवा,डायलासिस सेवा,प्रसूति सेवा र इमर्जेन्सी सेवा बाहेकका सेवा ठप्प पारेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।

स्वास्थ्यकर्मी माथि हुने दुर्व्यवहार बन्द गर, सुरक्षाको प्रत्याभूति गर, सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्य संस्थामा काम गर्ने वातावरण सिर्जना गरलगायतका नारा लगाउँदै उनीहरुले तुलसीपुर बजार परिक्रमा गरेका थिए ।

टाइफाइडका बिरामीको कल्चरको उपचार सेवा नभएको आरोपमा एमाले भातृ संगठन अनेरास्ववियुका दाङ जिल्ला संयाेजक सर्जन परियारको नेतृत्वकाे एक समूहले सिंहलाई कालाेमाेसाे दलेर दुर्व्यवहार गरेको थियो ।

नेकपा एमाले दाङले पनि घटनामा संलग्न रहेका अनेरास्ववियु दाङका संयोजक परियार र दिवस क्षेत्रीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । घटनामा संलग्न युवाहरुको खोजी कार्य तीव्र पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।