बुटवल,१३ भदौ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ ज्योतीनगरमा पहिरो खसेर दर्जन बढी घरमा क्षति पुगेको छ ।
अबिरत बर्षासँगै आज विहान ६ बजे चुरेबाट खसेको पहिरोले स्थानीय मनमाया भाट क्षेत्री लगायत एक दर्जनबढी घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार ज्योतीनगरका ४ घरमा पहिरो पसेको छ । उज्यालो भइसकेकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यहि भदौ ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयहरु सावधानी अपनाउदै आएका थिए ।
पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन् । त्यसैगरी पहिरोले क्षति पुग्नसक्ने घरबाट समेत सामान अन्यत्र सार्ने तयारी गरिएको छ ।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको विद्युतका पोल समेत बगाएको छ ।
यसअघि बुटवलको वडा नं. ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो गएकोमा अहिले सो क्षेत्रमा थप ३ ठाउँमा पहिरो गएको हो ।
उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो ।






